२०८२ भदौ ११, बुधवार , ०३:४५:०८ बजे

Sajhamanch
'

कोशीका मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटवार्ता

बुधवार, भदौ ११, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र महामहिम इजरायली राजदूत श्मुलिक आरि बासबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विराटनगरमा भेटघाट भएको छ। भेटमा मुख्यमन्त्री कार्कीले नेपाल-ईजराल बीचको ऐतिहासिक मित्रता रहेको चर्चा गर्दै यसलाई अझै गाढा बनाएर लैजानुपर्ने बताउनुभयो।

कृषि, श्रम रोजगार र स्वास्थ्य क्षेत्रमा मुख्य सहकार्य हुँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले नेपाली मुख्यतया कृषि र केयरगिभरमा इजरायलमा कार्यरत भएको र यसलाई अझै व्यवस्थित बनाउनुपर्ने बताउनुभयो।

नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश पनि इजरायल सरकारसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो।

इजरायलमा आधुनिक कृषि प्रविधिका माध्ययमबाट भएको प्रगतिको प्रशंसा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश पनि कृषि उत्पादनका लागी प्रचुर सम्भावना बोकेको प्रदेश भएकाले सहकार्यको लागि तयार रहेको बताउनुभयो।

उहाँले कोशी प्रदेश सरकारले कृषिमा उद्यमशीलता विकास गर्नका लागि ब्याज अनुदान दिएर युवाहरुलाई कृषि पेशा अंगाल्न प्रेरित गरेको जानकारी दिनुभयो।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका कृषकलाई शैक्षिक र व्यावहारिक तालिमको व्यवस्था गर्न सके कृषिका माध्ययमबाट प्रदेशको आर्थिक विकासमा योगदान विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन पनि आग्रह गर्नुभयो। कोशी प्रदेश सरकार महामहिम राजदूत मार्फत जोशीको रिहाइको लागि आग्रह गर्दछ, सो अवसरमा मुख्यमन्त्री कार्कीले भन्नुभयो।

मनमोहन प्राविधिक विश्वविध्यालय, गौरादह कृषि क्याम्पस लगायत प्रदेशका कृषि क्याम्पसहरू सँग सहकार्य गरेर अगाडि बढ्नका लागि पनि मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो। सो अवसरमा इजरायली राजदूत श्मुलिक आरि बासले नेपाल र इजरायलको सम्बन्ध अत्यन्तै पुरानो र गाढा भएको बताउनुभयो।

उहाँले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला को पालादेखि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको बताउनुभयो। केयर गिभर र एग्रिकल्चरको क्षेत्रमा काम गर्ने अवसरहरू इजरायलमा रहेको चर्चा गर्दै त्यस ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

कृषि क्षेत्रमा काम गर्न र सहकार्य गर्न इजरायल सरकार तयार रहेको बताउँदै उहाँले कोशी प्रदेशमा पनि सम्भावना भएको क्षेत्रमा सहकार्य गर्ने बताउनुभयो। नेपालमा कृषि काम गर्ने ५० प्रतिशत भन्दा बढी भएपनि सो अनुसारको प्रगति नभएको र इजरायलमा थोरै जनसङ्ख्या कृषिमा काम गर्ने भएपनि उल्लेख्य प्रगति भएको उदाहरण दिँदै कृषि क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने औल्याउनु भयो।