२०८२ भदौ ११, बुधवार , ११:४४:३४ बजे

Sajhamanch
'

वीरगञ्जमा अहिलेसम्म ११४ जनामा हैजाको सङ्क्रमण पुष्टि

बुधवार, भदौ ११, २०८२

काठमाडौं । पर्साको वीरगञ्जमा हैजाको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार अहिलेसम्म ११४ जनामा हैजा पुष्टि भएको छ । झाडापखाला र हैजा पुष्टि भएका १९९ जना बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

अहिलेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखाला लागेर उपचारका लागि भर्ना भएका बिरामीको सङ्ख्या ४२२ पुगेको छ । जसमध्ये उपचार गराएर २२३ जना डिस्चार्ज भएका छन् । महानगरपालिकाले हैजा सङ्क्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशङ्कामा पानीको नमुना सङ्कलन र प्रयोगशालामा परीक्षण प्रक्रियालाई अघि बढाएको छ ।

महानगरको स्वास्थ्य शाखाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरेका बिरामीको दिसाको कुल १० नमुनामध्ये आठ नमुनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । बाँकी दुई नुमनाको रिपोर्ट आउन बाँकी छ ।

हैजा फैलिएपछि वीरगन्ज महानगरले मातहतका सबै विद्यालय थप तीन दिन बन्द गरेको छ । विद्यालयका शिक्षक र कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ ।

महानगरपालिकाले सरसफाइ र सचेतनामुलक कार्यक्रम गरिरहेको छ । पानी उमालेर पिउन, खुला शौच नगर्न, सरसफाइमा ध्यान दिन डाक्टरले अनुरोध गरेका छन् ।

सम्बन्धित खबर