
बिर्तामोड । बिर्तामोड ३ स्थित इन्भेन्चर एजुकेसन एकाडेमीले तीजको अवसरमा आइतबार अभिभावकसहित विद्यार्थीलाई दर खुवाउँदै सांस्कृतिक कार्यक्रम गरेको छ ।अभिभावक वर्गको उत्साहपूर्ण सहभागितामा आयोजित दरखाने कार्यक्रममा नानी बाबुहरुलाई तीजको महत्व बुझाइएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक सानबहादुर बस्नेतले कार्यक्रम आयोजना गर्नुको औचित्यमा माथि प्रकाश पार्दै तीजको दर खुवाउने परम्परा तथा सांस्कृतिक महत्वका बारेमा चर्चा गर्नुभएको थियो । यस्तो कार्यक्रमले विद्यालय परिवार र अभिभावकबीच पारिवारिक एकता र आपसी सम्बन्धलाई अझ मजबुत बनाउने सहायक प्रधानाध्यापक बस्नेतले बताउनुभयो ।
विद्यालयले अभिभावकलाई तीजको अवसरमा दर खाने कार्यक्रममा सांंस्कृतिक विधा अन्तर्गत प्रतियोगितात्मक गीत र नृत्य राखेको थियो । सो प्रतियोगितामा अभिभावकहरुले हर्ष उल्लासका साथ सहभागी भएर आफ्नो प्रस्तुति दिएका थिए । नाचगान प्रस्तुत गरेपछि माहोल झनै रमाइलो बनेकोले विद्यार्थीहरु पुलकित भएका थिए । अभिभावकहरुबीच भएको नृत्य र गायन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिनुका साथै सबै सहभागीलाई विद्यालयले सान्त्वना पुरस्कार प्रदान गरेको थियो ।
विद्यालयका संस्थापक रुपा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा समापन मन्तब्य राख्नुहुँदै तीजको अवसरमा अभिभावकसँग यसरी खुसी साटासाट गर्न पाउँदा विद्यालय परिवार धन्य रहेको बताउनु भयो । अभिभावकहरुको गरिमामय उपस्थितिको लागि धन्यवाद प्रदान गर्नु हुँदै उहाँले कार्यक्रमले विद्यालय परिवार र अभिभावक बीच एकताबद्ध बनाउने र संस्कृतिप्रति गर्व पनि बढाउने भन्दै अभिभावक, शिक्षक कर्मचारी र विद्यार्थीहरुमा आभार प्रकट गर्नु भएको थियो ।