२०८२ भदौ ९, सोमवार , ०१:५०:१९ बजे

Sajhamanch
'

वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, सङ्क्रमितको सङ्ख्या ७९ पुग्यो

सोमवार, भदौ ९, २०८२

पर्सा । वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । गएको शुक्रवारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेको जानकारी दिनुभयो । ‘आइतवार बेलुका ८ बजेसम्म हैजाका सङ्क्रमित ७१ जना भेटिएका थिए’, उहाँले भन्नुभयो, ‘सोमवार बिहानसम्म थप ८ जना हैजाका सङ्क्रमित भेट्टिएका छन् ।’

‘हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन’, उहाँले भन्नुभयो, ‘विश्व स्वास्थ्य सङ्गठनलगायतका प्रतिनिधिले आइतवारदेखि यहाँका पानीको परीक्षणलगायतका काम गरिरहनुभएको छ । सम्भवत आजसम्म हैजाको स्रोतको पहिचान हुने आशा राखेका छौँ ।’

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले आइतवारसम्म अस्पतालमा ३० जना बिरामी भर्ना भएका जानकारी दिनुभयो । ‘नारायणी अस्पतालमा हैजाको उपचारका लागि शय्या र जनशक्ति दुवैको अभाव देखिएको छ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म कुनै पनि निकायबाट आवश्यक पर्ने सहयोग आइपुगिसकेको छैन । अहिलेसम्म कागजी प्रक्रियामा सहयोग गर्ने भने तापनि वास्तविक रूपमा आवश्यक पर्ने जनशक्ति र अन्य उपचारका सामग्री आइपुगिसकेको छैन ।’

प्रवक्ता सिंहले हैजाको महामारीका साथसाथै अन्य विभिन्न किसिमका बिरामीको चाप पनि थेग्नै नसकिने प्रकृतिको रहेको गुनासो गर्नुभयो । ‘हामीले यो महामारीबाहेक अन्य खालका विभिन्न महामारीसँग पनि लडिरहेका छौँ । सर्पदंशको बिगबिगी छ । ज्वरो, प्यारालाइसिसलगायत बिरामीको चाप भए पनि जनशक्ति पर्याप्त नहुँदा भने व्यवस्थापन गर्न मुश्किल भइरहेको छ’, उहाँले भन्नुभयो, ‘भएका जनशक्तिले अत्यधिक काम गर्न परिरहेको छ । तर अस्पतालमा अहिले आन्तरिक र बाह्य दुवै खालको सहयोग छैन ।’

प्रवक्ता सिंहले वीरगञ्जमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि आएर पानीको परीक्षणलगायतका आवश्यक काम गरिरहेकाले पनि सम्भवत आजै हैजाको स्रोतको प्रारम्भिक रिपोर्ट आउन सक्ने जानकारी दिनुभयो ।

नारायणी अस्पतालमा जाँच गर्दा २६ जना बिरामीमा कलेरा सङ्क्रमित देखिएका छन् । त्यस्तै तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा ९ जना, भवानी अस्पतालमा ३ जना कलेरा सङ्क्रमित बिरामी भेट्टिएका हुन् ।

त्यस्तैगरी वीरगञ्ज हेल्थ केयर, अली अर्थो अस्तताल, मङ्गलम प्याथोलोजीमा २/२ गरी ८ जना हैजा कोलेरा सङ्क्रमित बिरामी भेटिएका छन् । थप ८ जना बिरामी सोमवार बिहानीको समयमा थपिएकोमा त्यसको विवरण कुन अस्पतालमा परीक्षण गरिएको खुल्न सकेको छैन ।

सम्बन्धित खबर