
काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग छनोट चरण अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले आज उज्वेकिस्तानको पीएफसी नासाफसँग खेल्दैछ । खेल उज्वेकिस्तानको क्वार्सीमा नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुनेछ ।
यसै समूहमा रहेका थाइल्याण्डको कलेज अफ एशियन स्कोलार्स र साउदी अरेबियाको अल नासेरबीच पनि आजै खेल हुनेछ । गएको वर्ष पनि छनोट चरणमा नेपाल र नासाफ एउटै समूहमा परेका थिए । त्यो बेला एपीएफ नासाफसँग १–० गोलले पराजित भएको थियो ।
अनिता बस्नेत कप्तान रहेको एपीएफले समूह ‘बी’ अन्तर्गत दोश्रो खेलमा बिहिवार एशिया स्कलर्ससँग र तेश्रो तथा अन्तिम खेलमा भदौ १५ गते आइतवार अल नासरसँग खेल्ने छ । एपीएफ एन्फा महिला लिगको विजेतासमेत हो ।
गएको संस्करणमा पनि एपीएफले प्रारम्भिक चरणका खेल खेलेको थियो । यसपल्ट वरीयातामा तल्लो स्थानमा रहेका १९ टोलीले प्रारम्भिक छनोट खेल्नेछन् । यी १९ टोलीलाई पाँच वटा समूहमा विभाजन गरिएको छ । चार समूहमा चार–चार वटा टोली हुनेछ । एक समूहमा भने ३ वटा टोली रहेका छन् ।
हरेक समूहको शीर्ष स्थानमा रहने टोलीले एएफसी महिला क्लबमा पहिल्यै छनोट भइसकेका सात टोलीसहित १२ टोलीले फाइनल चरणमा खेल्नेछन् ।