
काठमाडौं । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको मर्स्याङदी गाउँपालिका–८ भुलभुलेमा ‘पाँचौं हामखोला झरना महोत्सव–२०८२’ सम्पन्न भएको छ । विभिन्न साँस्कृतिक तथा खेलकुद कार्यक्रमसहित महोत्वस सम्पन्न गरिएको आयोजक हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अध्यक्ष अशोक वाइवाका अनुसार स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन हामखोला झरनाको थप प्रचारप्रसार आवश्यक रहेको र पर्यटन प्रवर्द्धनका लागि महोत्सव गरिएको हो । महोत्सवमा स्थानीय उत्पादन, संस्कृति र परम्परालाई समेत प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो ।
साइकलिङ र्यालीले महोत्वलाई अझ आकर्षण देखाएको थियो । स्वदेशी तथा विदेशी पर्यटकको नजरमा परेको यो झरनाको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनका लागि महोत्सव गरिएको समितिका अध्यक्ष वाइवाले बताउनुभयो ।
महोत्सवमा स्थानीय उत्पादन, संस्कृति र परम्परालाई समेत प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो । मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले महोत्सव साँस्कृतिक कार्यक्रम मात्र नभइ गाउँपालिका भित्र रहेका साम्बा चोक, नेपालकै पहिलो सुरूङमार्ग, हामखोला झरना, ङादी ड्यामसाइड, जलविद्युत कम्पनीका संरचना लगायतका नयाँ पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनमा योगदान पुर्याएको बताउनुभयो । स्थानीय होटल व्यवसायी, यातायात व्यवसायी लगायतका क्षेत्रहरू प्रत्यक्ष लाभान्वित भएको गुरुङको बताउनुभयो ।
अझ नयाँ योजना, थप व्यवस्थित तरिकाले व्यवस्थापन र नवीन आयामसहित निरन्तर अघि बढाउन र पर्यटन प्रवर्द्धनलाई सशक्त रूपमा अगाडि बढाउन साझा सङ्कल्प रहेको गाउँपालिकाले जनाएको छ ।
हामखोला झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले सडकबाट झरनासम्म पुग्ने सिँढी, फलामे पुल, बार, बस्ने ठाउँलगायतका पूर्वाधार निर्माण गरेको छ ।
लमजुङ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित यो झरना सदरमुकाम बेंसीशहरबाट उत्तरतर्फको बाटो हुँदै गाडीमा २० मिनेटमा पुग्न सकिन्छ । अहिले दैनिक दुई सय जनासम्म स्वदेशी तथा विदेशी पर्यटक झरनामा पुगेर रमाउने गर्छन् । उनीहरु झरनाको चिसोको आनन्द लिने, फोटो खिँच्ने, टिकटक बनाउने र ब्लग बनाउन व्यस्त हुन्छन् ।