
काठमाडौं । भारत सरकारले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको छ । ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न भारतले स्वीकृत दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको हो ।
प्राधिकरणका अनुसार यसअघि अनुमति प्राप्त ८१०.९ मेगावाट र गएको साउन २६ गते थप २०० मेगावाट बिजुली निर्यातको सहमति दिएको थियो । यसअघि अनुमति प्राप्त ८१०.९ मेगावाट र थप २०० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको थियो । भारत सरकारले त्यसमा थप ८० मेगावाट बिजुली निर्यात गर्न सहमति दिएसँगै नेपालले १०९०.९ मेगावाट बिजुली निर्यात गर्ने भएको छ ।
वर्षायाममा नेपालले बिजुली बिक्री गर्दै आएको छ भने सुक्खायाममा भारतसँगै किन्दै आएको छ । भारतसँगै नेपालले बङ्गलादेशलाई समेत ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ । बङ्गलादेश निर्यातको ४० मेगावाटसहित नेपालको कुल निर्यात स्वीकृति ११३०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।