
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीन र भारतबीच लिपुलेक हुँदै व्यापारिक सहमति हुनुले नेपालको भौगोलिक अखण्डतामाथि आँच पुगेको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपालसँग आज कुराकानी गर्दै डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय हितमा दरोसँग उभिएर कुरा गर्न सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले छिमेकीसँग नझुकिकन स्पष्टसँग कुरा गर्न आवश्यक रहेको समेत बताउनुभयो ।
भट्टराईले दुवै छिमेकी देशका प्रतिनिधिसँग शुरूमा छुट्टाछुट्टै वार्ता गर्ने र पछि संयुक्त रूपमा वार्ता गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । तथ्य प्रमाण अनुसार लिपुलेक नेपालको हो भन्न सक्नुपर्नेमा उहाँको जोड छ ।
सोध्दै नसोधिकन नेपालको भू–भागबाट व्यापार मार्ग खोल्ने कुरा गम्भीर विषय भएकाले नेपालले आफ्नो अडान स्पष्ट ढङ्गले राख्नुपर्ने पूर्वप्रधानमन्त्री भट्टराईले बताउनुभयो । यसमा अरूले चासो दिने नभई नेपालले आफ्नो चासो राख्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘चासो कसैले कसैलाई दिने होइन, आफूले आफ्नो चासो लिने हो । अरूसँग सम्बन्ध राख्ने हो । छरछिमेकसँग आफ्नो आवश्यकता अनुसारको सम्बन्ध राख्ने हो । उनीहरूको आफ्नो स्वार्थ हुन्छ, हाम्रो आफ्नो स्वार्थ हुन्छ । स्वार्थ कहाँ मिल्छ त्यही अनुसार सम्बन्ध राख्ने हो । भारत र चीनजस्ता ठूला अर्थतन्त्रका देशसँग हामी छौँ । यी देशबीचमा हामी हुनु ठूलो अवसर हो । हामीले यसले यस्तो गर्यो भनेर रोइकराइ गर्ने होइन । रोएर कसले सहयोग गर्दछ ? आफ्नो हितमा हामीले कसैसँग झुक्दा पनि नझुक्ने, भुक्दा पनि नभुक्ने हो । कसैलाई चिढ्याउँदा पनि नचिढ्याउने र कसैसँग अनावश्यक ढङ्गले लम्पसार पनि नपर्ने नीति अपनाउन सक्यौँ भने भारत र चीन दुवैसँग सम्बन्ध अघि बढाएर जान सकिन्छ । हामीलाई सोध्दै नसोधिकन हाम्रो भू–भागबाट व्यापार मार्ग खोले यो गम्भीर विषय हो । यसमा रोइकराइ गरेर बस्नुभन्दा पनि यसमा आफ्नो अडान स्पष्ट ढङ्गले राख्ने हो । हामी दुवै छिमेकीबाट चेपुवामा पर्ने अवस्थालाई कूटनीतिक र राजनीतिक तरिकाले वार्ता र संवाद गरेर हल गरौँ । राजनीतिक नेतृत्वको क्षमता भनेकै चुनौतीलाई अवसरमा परिणत गर्ने हो । हाम्रो प्रधानमन्त्रीलाई राष्ट्रिय हितमा दरोसँग उभिएर कुरा गर्न सहयोग गर्नुपर्छ ।’
सन् २०२० मा पूर्वी लद्दाखमा दुई एशियाली शक्ति राष्ट्रका सैनिकहरूबीच झडप भएपछि नाका व्यापारिक प्रयोजनका लागि बन्द थियो । गएको डिसेम्बरमा भारत र चीनले नेपालको जानकारीविना नै यो नाकाबाट कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्री आवतजावतका लागि पुनः शुरू गर्ने समझदारी गरेका थिए ।
यसबीचमा भर्खरै उनीहरूले गरेको व्यापार सम्झौता बाहिरिएको छ । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भएको दाबी गर्दा भारतले अस्वीकार गरेको छ ।