२०८२ भदौ ६, शुक्रवार , ०१:१३:५० बजे

Sajhamanch
'

सकारात्मकताका साथ अघि बढौँ, केही गरौँ : प्रधानमन्त्री

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक भाष्य निर्माण हुँदै गइरहेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ।

सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्णाली’ कार्यक्रमलाई विहीबार बेलुका सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका कामहरुको चर्चा हुन नसकेको बताउनु भएको हो । उहाँले सधैं नकारात्मक भाष्य सिर्जना गर्ने र भएका कामहरुको चर्चा नगर्ने परिपाटी विकसित भइरहेको बताउनु भयो । सबै सकारात्मकताका साथ अघि बढ्ने हो भने देश बन्न समय नलाग्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो अलिकित नकारात्मक एटिट्युड बनेको छ । त्यसकारण सकारात्मक सोचको विकास गरौँ । सकारात्मकताका साथ अघि बढौँ । केही गरौँ ।’

आफूमाथि गरिएका व्यंग्यहरु केही नगर्नेले केही गर्नेलाई झट्टि हानेको जस्तो रहेको उहाँले टिप्पणी गर्नुभयो । कर्णालीका लागि आफूले केही मानिसहरुले गर्नुभएको योगदान बाहेक प्रतिष्पर्धा गर्नसक्ने कामहरु गरेको जिकिर गर्नुभयो ।

‘मलाई अघि राखेर गरिएका व्यंग्यहरु कस्तो भने केही नगर्नेले केही गर्नेलाई झट्टि हानेको जस्तो लाग्यो । पर्सनल्ली पनि कसले कति गरेको छ, कर्णालीको लागि भन्ने म त टाढाकै मान्छे हुँ, झापाको एउटा कुनाको मान्छे,’ उहाँले भन्नुभयो, ‘केही साथी मात्रै अघि जानुहोला नत्र प्रतिष्पर्धामा पर्दछु । हामी भन्नेमात्रै होइन, गर्ने पनि पर्छौं ।’

प्राकृतिक ग्याँसको खोजी गर्नुपर्छ, ग्याँस पाइनसक्छ भन्दा उडाउनेहरुले अहिले ग्याँस पाइएपछि पनि विरोध गरिरहेको उहाँले गुनासो गर्नुभयो । ‘ग्याँसको खोजी गर्नुपर्छ, ग्याँस पाइनसक्छ भन्दा उडाउनेहरु थुप्रै थिए । आज ग्याँस पाइयो,’ उनले भने, ‘ग्याँस पाइयो, चर्चा नै नगर्ने, विश्वविद्यालय बन्यो चर्चा नै नगर्ने, कोही सुत्केरी हुँदा हेलिकप्टरबाट ल्याएको नदेख्ने, बाटो बन्यो, चर्चा नै नगर्ने ।’

प्रधानमन्त्री ओलीले कर्णाली बनाउनका लागि कमजोरीहरु सुधारेर अघि बढ्ने बताए । ‘बन्छ कर्णाली, बनाउनुपर्छ । उठ्छ कर्णाली,’ उहाँले भन्नुभयो, ‘कमजोरी होलान्, सुधार गरेर जानुपर्छ ।’

सम्बन्धित खबर