
काठमाडौं । शहरी विकास मन्त्रालयले ठूला आयोजनाको निगरानीका लागि ‘अनलाइन अनुगमन कक्ष’ सञ्चालनमा ल्याएको छ । प्राथमिकतायुक्त आयोजनाहरूको चौबीसै घण्टा अनलाइनमार्फत अनुगमन गर्न सकिने कक्षको आज एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभारम्भ गर्नुभएको हो ।
कक्षबाट मन्त्रालयका कर्मचारीहरूले आयोजना प्रमुखसँग लाइभ कुराकानी र छलफल गर्न सक्नेछन् । शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री सिंहले अनलाइन अनुगमन प्रणालीले समय र खर्च बचत हुने तथा आयोजना निर्माणमा देखिएका समस्या तत्काल समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विकास निर्माणका आयोजनाहरूलाई गति दिन यस कक्षले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
तत्कालका लागि शहरी विकास मन्त्रालय अन्तर्गत काम भइरहेका त्रिवि क्रिकेट मैदान, सिंहदबारभित्रै बनिरहेको सङ्घीय संसद् भवन, नवलपुर नमूना सदरमुकाम, कोशी अस्पताललगायतका आयोजनाहरूलाई मन्त्रालयको कोठाभित्र बसेर अनलाइनमार्फत प्रत्यक्ष अनुगमन गर्न सकिने छ ।
आउँदा दिनमा मन्त्रालय मातहतका प्राथमिकतायुक्त सबै आयोजनालाई अनुगमन गर्ने प्रक्रियामा जाने मन्त्री सिंहले बताउनुभयो । अनलाइनमार्फत अनुगमन गरे पनि भौतिक अनुगमन गरेर प्रगतिको अवस्था बुझ्ने कार्य नरोकिने मन्त्रालयले जनाएको छ ।