२०८२ भदौ ४, बुधवार , ०३:५६:४५ बजे

Sajhamanch
'

झापाका सुधार केन्द्रमा ८०० भन्दा बढी युवा

बुधवार, भदौ ४, २०८२

झापा । लागूऔषधको दुर्व्यसनमा फसेका ८४५ युवा झापाका विभिन्न सुधार (पुनः स्थापना) केन्द्रमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका २७ वटा पुनः स्थापना केन्द्रमा अहिले ८४५ जना लागूऔषधको दुर्व्यसनमा फसेका युवा छन् । ती युवालाई अभिभावक आफैँले र प्रहरीले दुर्व्यसनबाट मुक्त गराउन पुनः स्थापना केन्द्रमा राखेका हुन् ।

भारतसँगको खुला सीमानाका कारण पछिल्लो समय जिल्लामा लागूऔषध दुर्व्यसनको समस्या भयावह रूपमा देखिएको छ । दिनहुँ प्रहरीले सीमानाका, ठूला बजार र ग्रामीण बस्तीबाट युवालाई लागूपदार्थसहित नियन्त्रणमा लिने गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार मेचीनगर र बिर्तामोडमा छ वटाका दरले पुनः स्थापना केन्द्र सञ्चालनमा छन् भने शिवसताक्षीमा चार, दमकमा तीन, कनकाईमा तीन, अर्जुनधारामा दुई, कमलमा दुई र बुद्धशान्तिमा एउटा पुनः स्थापना केन्द्र रहेका छन् ।

बिर्तामोडका पुनः स्थापना केन्द्रमा सबैभन्दा बढी २२३ जना युवा उपचाररत छन् । मेचीनगरमा १७८, शिवसताक्षीमा एक सय पाँच, दमकमा ८९, कनकाईमा ८२, कमलमा ७३, अर्जुनधारामा ५५ र बुद्धशान्तिमा ४० जनाले लागूऔषध दुर्व्यसनको मुक्तिका लागि उपचार गराइरहेका छन् ।

मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नवयात्रा पुनः स्थापना केन्द्रका सञ्चालक भीमप्रसाद लुइँटेलले केन्द्रमा हाल ३३ जनाको उपचार भइरहेको बताउनु भयो ।

समाजले बिग्रियो भनेर बेवास्ता गरेको र परिवारको विश्वास गुमाइसकेको अवस्थामा दुर्व्यसनमा लागेको युवालाई सुधारेर स्वस्थ बनाइ परिवार र समाजमा पुनः स्थापना गर्ने कार्य सहज भने नहुने उहाँले धारणा राख्नुभयो ।

‘राज्यले गर्नुपर्ने काम हामीले गरिरहेका छौँ’, विगत १३ वर्षदेखि पुनः स्थापना अभियानमा सक्रिय लुइँटेलले भन्नुभयो, ‘सीमावर्ती क्षेत्रमा यो समस्या विकराल भइसकेको छ । राज्यले यो विषयमा गम्भीर हुन ढिला भइरहेको छ ।’

पुनः स्थापना केन्द्रहरूले तीनमहिने र छ महिने कोर्स पूरा गर्ने गरी दुर्व्यसनमा लागेका युवाहरूको आवासीय सशुल्क उपचारको व्यवस्था गर्दै आएका छन् ।

केन्द्रमा आवासीय उपचार गराउन आउने युवालाई दुर्व्यसन छुटाउन दिनहुँ परामर्श कक्षामा सहभागी गराउने, नियमित स्वास्थ्य परीक्षण गराउने र हरेक दिन योग तथा ध्यानसमेत गराउँदै आइएको नवयात्रा पुनः स्थापना केन्द्रका सञ्चालक लुइँटेलले बताउनु भयो ।

सम्बन्धित खबर