२०८२ भदौ ४, बुधवार , ०१:३४:०५ बजे

Sajhamanch
'

काभ्रेपलाञ्चोकको भुम्लुबासीले ५० वर्षपछि लालपूर्जा पाए

बुधवार, भदौ ४, २०८२

काभ्रे । भुम्लु गाउँपालिकाका दुई वडाका बासिन्दाले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपूर्जा वितरण शुरु गर्नुभएको हो । २०३२ सालदेखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) अहिलेका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए ।

प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नम्बर ७ र ८ का ४३१ जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको छ । हिजो वडा नम्बर ७ का १८५ र वडा ८ का २४६ जना जग्गाधनीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ ।

यसका लागि नापी कार्यालय काभ्रेपलाञ्चोकले २०७१ सालको जेठ २५ गतेदेखि पालिकामा नापी टोली खटाएर काम गरिरहेको थियो । कार्यालयका अनुसार अहिले दुई वटा वडाको ४५० वटा लालपूर्जा बनेको छ भने त्यति नै सङ्ख्यामा छानविन गरी लालपूर्जा बनाउन बाँकी छ ।

कार्यालय प्रमुख अशोककुमार भुसालले वडा नम्बर ७ मा ३०० र वडा नम्बर ८ मा छ सय वटा लालपूर्जा बनाउनुपर्ने देखिएको जानकारी दिनुभयो । साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे दुवै गाविसमा परेको थियो ।

तत्कालीन समयमा खेतियोग्य जमिनमा दुवै गाविसले दाबी गरेपछि विवाद भएको थियो । २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण काम हुन सकेको थिएन । २०३५ सालमा पनि काम नभएपछि स्थानीयले जग्गाको लालपूर्जा पाउन सकेका थिएनन् ।

सम्बन्धित खबर