
काठमाडौं । सरकारले बीमा प्राधिकरणको अध्यक्ष शरद ओझालाई बर्खास्त गरेको छ । हिजो बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
ओझाको नियुक्ति विवादित भएपछि असार ३० गते मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा छानबिन समिति बनाएको थियो । ओझा त्यही दिनबाट पदबाट निलम्बित भएका थिए ।
समितिले उनीसँग प्राधिकरणको अध्यक्ष बन्ने योग्यता नरहेको र फर्जी कागजात बुझाएर नियुक्ति लिएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो । यसअघि गएको फागुन १२ गते मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।