
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले विधान महाधिवेशनको सम्मुखमा पार्टीको अन्तरकुन्तरमा उठेका केही विषयहरुमा तरंगित नहुन आग्रह गर्नुभएको छ ।
पार्टीको जनवर्गीय संगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपालको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ज्ञवालीले सो कुरा बताउनु भएको हो ।
पार्टीले गरेको संस्थागत निर्णयका पक्षमा उभिन सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्दै उहाँले कम्यूनिष्ट पार्टीमा केन्द्रले गरेको निर्णयको पालना मातहतका कमिटीले गर्नुपर्दछ भन्नुभयो ।
‘पार्टी केन्द्रले गरेका निर्णयलाई अक्षरशः पालना गर्नु सबै कार्यकर्ताको दायित्व हो । संस्थागत निर्णयको पालनाबाट नै पार्टी एकतावद्ध हुनेछ’ उपमहासचिव ज्ञवालीको भनाइ छ ।
उहाँले भूमि अधिकार तथा श्रमिक संगठन कम्यूनिष्ट पार्टीको वर्गलाई प्रतिनिधित्व गर्ने संगठन भएको पनि बताउनु भयो । यस संगठनले वर्गीय मुद्धालाई जोडदार रुपमा उठाउनु पर्ने कुरामा उहाँले जोड दिनुभयो ।
यस वर्गका मुद्धाप्रति पार्टी सधैं गम्भिर रहेको उहाँको भनाइ थियो । जब जब एमालेको सरकार बन्छ तबतब भूमि आयोग बन्छ । जब जब भूमि आयोग बन्छ तब तब भूमिहिनहरुले लालपुर्जासहितको जमिन पाउँदैै आएका छन् ।
कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले पार्टीको मूलधारमा अडिएर नेतृत्वको पक्षमा उभिनु कार्यकर्ताहरुको दायित्व भएको बताउनुभयो ।
वर्तमान सन्दर्भमा केपी ओली बिनाको एमाले परिकल्पना बाहिरको विषय भएको ढकालको भनाइ थियो ।
पार्टी पोलिटव्यूरो सदस्य एवं संगठनका इन्चार्ज शान्ता चौधरीले भूमिहिन सुकुम्बासीको समस्या समाधान एमालेले मात्र गर्नसक्ने बताउनुभयो ।
भूमिहिनलाई कुनै विकल्प नदिएर बसिरहेको ठाउँबाट उठाउन नपाइने चौधरीको भनाइ थियो । कुनैपनि ठाउँमा यस प्रकारका ज्यादती भएमा संगठन अग्रपंंङ्तिमा उभिने बताउनुभयो ।