
काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा आज बिहान काठमाडौं आइपुग्नुभएको छ । उहाँ परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रमका नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर सचिवस्तरीय छलफल हुने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौं रहँदा भारतका विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारी भइरहेकाले भ्रमणको थप तयारीबारे पनि कुराकानी हुनेछ । साथै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नुहुनेछ । दुई दिने भ्रमण सकेर मिश्री भोलि स्वदेश फर्कनुहुनेछ ।