
काठमाडौँ । सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार स्थानान्तरण गरेर नख्खु कारागारमा ल्याएपछि छुट्टै कोठामा राखिने तयारी हुँदैछ ।
कारागार स्रोतका अनुसार शनिबार दिउँसो बुद्ध एयरको जहाजबाट ललितपुरस्थित नख्खु कारागारमा लामिछानेलाई ल्याउन लागिएको हो ।
नख्खु कारागारले लामिछानेका लागि छुट्टै कोठाको समेत व्यवस्था गरेको छ । ‘आजका लागि हामीले सिआसी ब्लकमा छुट्टै कोठामा उहाँलाई राख्ने तयारी गर्दै छौँ,’ नख्खु कारागारका प्रशासक भीमराज निरौलाले भन्नुभयो, ‘उहाँका लागि भनेर त्यस्तो छुट्टै केही व्यवस्था भने हुने छैन । अरू जसरी नै उहाँलाई राखिने छ । आजको रात चाहिँ छुट्टै कोठामा राख्ने छौँ । त्यसपछि बाँकी व्यवस्थापन हुँदै जानेछ ।’
कारागार स्थानान्तरण माग गर्दै निवेदन दिनु भएका लामिछानेका लागि अदालतले पनि कारागार सरुवाका लागि अनुमति दिएको थियो । उहाँको माग बमोजिम कारागार स्थानान्तरण नगरी भैरहवामै राखिएको थियो ।