
झापा । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
आजको दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गरिनुका साथै विशेष गरी महिला, पुरुष ब्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा श्रीकृष्णले दिएको सुझाव नै पवित्र धार्मिक ग्रन्थ ‘श्रीमद्भागवतगीता’ हो भन्ने विश्वास गरिन्छ ।
छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको ग्रन्थ हो ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
यस अवसरमा आज देशका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।
श्रीकृष्णजन्माष्टमीकै अवसरमा भोलि देशभर श्रीकृष्ण रथयात्रा निकाल्ने प्रचलन छ । कोशी प्रदेश सरकारले सो कार्यक्रमलाई महत्व दिएर आइतबार सार्वजनिक विदा दिएको छ ।