
काठमाडौं । गएको आर्थिक बर्ष २० वटा वाणिज्य बैंकहरुको कुल नाफा ७१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४७ प्रतिशतको वृद्धी हो । आर्थिक वर्ष २०८०/८१ मा २० वटा वाणिज्य बैंकको कुल नाफा ४९ अर्ब ७७ करोड रूपैयाँ थियो ।
आर्थिक वर्ष २०८१/८२ मा २० वाणिज्य बैंकहरुमध्ये १६ वटाको नाफा बढेको छ भने चार वटाको घटेको छ । कुमारी बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकको नाफा सयौं प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकले दुई करोड रूपैयाँसम्मको कर्जाको भाका सार्न दिएको र बैंकहरूले गैर बैंकिङ सम्पत्ति बिक्री गर्न सकेको कारण नाफा बढेको देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताउनुभयो ।
त्यस्तै, निर्माण व्यवसायीले सरकारबाट भुक्तानी पाएको र अर्थतन्त्र समेत अघिल्ला वर्षहरूमा भन्दा केही चलायमान भएकाले पनि असुलीमा सुधार भएको छ । २० वटा बैंकहरूको वितरण योग्य मुनाफा २१ अर्ब ६३ करोड रूपैयाँ छ ।
बैंकहरूले औसतमा १३.२९ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । त्यस्तै बैंकहरूको खराब कर्जा औसतमा ४.१ प्रतिशत छ । अघिल्लो वर्ष खराब कर्जा ३.६२ प्रतिशत थियो । बैंकहरूको औसत प्रतिशेयर आम्दानी १९ रूपैयाँ ०५ पैसा छ ।