२०८२ साउन ३०, शुक्रवार , ०४:१७:१० बजे

Sajhamanch
'

भोजपुरका किसानलाई कोदो रोप्न चटारो

शुक्रवार, साउन ३०, २०८२

भोजपुर । यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि मकै लगाएको बारीमा दोस्रो बालीका रूपमा यहाँका किसानले कोदो रोप्ने गर्दछन् । कोदो भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सिका, दावासँगै जिल्लाका नौ वटै स्थानीय तहमा खेती हुने गरेको छ ।

यस वर्ष समयमा वर्षात् नहुँदा खडेरीका कारण बेँसी क्षेत्रमा कोदो रोप्न केही ढिला भएको किसानले बताएका छन् । वर्षात् भएपछि किसान कोदोखेतीमा जुटेका हुन् ।

कोदो स्थानीय बजारमा प्रतिकिलो ५० देखि ६० रुपैयाँका दरले बिक्री हुने गरेको छ । रैथाने बालीका रूपमा रहेको कोदोबाली प्रवद्र्धनका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने स्थानीय कृषक रामबहादुर खत्रीले बताए ।

‘व्यावसायिक रूपमा कोदोखेती गर्ने चलन त छैन’, उनले भने, ‘आफूले खानका लागि खेती गर्दै आएका छौँ, गाउँघरमा अहिले कोदोखेतीको चटारो छ, राज्यले कोदोखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।’

कोदोबाट रोटी, ढिँडो, केक, पेय पदार्थका साथै विभिन्न मिष्टान्न परिकार बनाउन प्रयोग गरिन्छ । गत वर्ष पाँच हजार २७० हेक्टर क्षेत्रफलमा खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष पनि सोही हारहारीमा खेती हुने आङ्कलन रहेको केन्द्रको भनाइ छ ।

श्रमका आधारमा उत्पादन कम हुने भएकाले यसतर्फ कृषकको आकर्षण घट्दै गएको स्थानीय किसानले बताउने गरेका छन् । कोदाको मूल्य स्थिर नहुँदा भने बेचबिखनमा समस्या हुने गरेको किसानको भनाइ छ ।

शुक्रवार, साउन ३०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर