
फुङलिङ । ताप्लेजुङमा फड्के पुलबाट लडेर खोलामा खसेकी बालिकाको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुका साढे दुई वर्षीया बालिकाको फड्के पुलबाट लडेर मृत्यु भएको हो ।
फुरुम्बुका वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार आमा शान्ता लिम्बूले छोरीलाई बोकेर माइती जाने क्रममा पुलबाट चिप्लिएर दुवै जना खोलामा पसेका थिए । चिप्लिएर खोलामा पसेका शान्तालाई ससुरा टकबहादुर लिम्बुले उद्धार गर्नुभएको थियो ।
त्यस्तै बालिकालाई भने खोलाले बगाएर करिब दुई सय मिटर तल पुर्याएको थियो । ढुङ्गामा अल्झिएको बालिकाको उद्धार गर्नुअघि नै निधन भइसकेको बताइएको छ ।
फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाको सिमानामा रहेको सिस्ने खोलामा बनाइएको अस्थायी फड्के पुलबाट चिप्लिएर आमाछोरी खोलामा पसेका थिए ।
शवको कानुनी प्रक्रिया पूरा गर्नका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली खटाइएको बताइएको छ ।