
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षामा स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने भन्दै सिट सङ्ख्या बढाउने निर्णय गरेको छ ।
आयोगको हिजो बसेको २१ औं बैठकले एमबीबीएस, बीडीएस, बीफर्मा, डीएम, एमसीएचलगायत विषयमा सिट सङ्ख्या बढाउने निर्णय गरेको हो ।
आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले एमबीबीएसतर्फ यसअघि १०० सिट रहेका कलेजहरूमा १३० र ५० सिट रहेकामा ६० पुर्याउने निर्णय गरेको छ ।
एमबीबीएसतर्फ ४९५ र बीडीएसमा ४४० सिट बढाइएको छ । निजी मेडिकल कलेजहरुको सिट सङ्ख्या बढाउने निर्णय गर्दा सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको एमबीबीएस सिट सङ्ख्या भने बढाइएको छैन ।
मेडिकल कलेजहरुको पूर्वधार, संकाय लगायतका मापदण्डहरु हेरेर सिट बढाउने निर्णय भएको आयोगले जनाएको छ ।
यसअघि वैशाख ३ गते बसेको आयोगको बैठकले निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सिट सङ्ख्या र शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।