
विराटनगर । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको कोशी प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठक आज बसेको छ ।
बैठकमा प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको स्थानीय सरकारी कामकाजको भाषा विधेयकले समेटन नसकेको मुख्य भाषिक समुदायहरु (बान्तवा, चाम्लिङ र थारु लगायत)को आवाजहरुलाई समेट्ने र संबोधन गर्ने विषयमा छलफल भएको छ।
बैठकमा प्रदेश सरकारको समग्र पक्षको बारेमा छलफल भएको नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारका काम कारवाहीबारे जानकारी गराउनु भएको थियो । संयन्त्रको बैठकले प्रदेश सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सुझावसमेत दिइएको छ ।
प्रदेश स्तरीय संयन्त्रमा नेकपा (एमाले)का तर्फबाट कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेकपा(एमाले) कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा रहनु भएको छ ।
नेपाली कांग्रेसका तर्फबाट पूर्व मुख्यमन्त्री, नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा, कांग्रेस कोशी प्रदेशका महामन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र उमेश थापा रहनु भएको छ ।