
काठमाडौं । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा रहेको बिच्छ्या खोलाको बाढीले २ वटा घर पुरेको छ ।
बाढीले ४ वटा घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिजो बेलुकी ६ बजेतिर आएको बाढीले स्थानीय नरेन्द्र बुढाको पसल र सञ्चलाल थापाको घर पुरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देब वहादुर चौधरीले जानकारी दिनुभयो ।
त्यसैगरी स्थानीय धनसिंह थापा, सब्बले थापा, लाल बहादुर थापा, गोताल थापाको घरमा आशिंक रुपमा क्षति पुगेको छ भने सुजालाल थापाको शौचालय बाढीले पुरेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।
बाढीले झोलुङ्गे पुल र बिच्छ्या मावि, १ नम्बर वडा कार्यालय भवन लगायत अरु १७ वटा सरकारी संरचनामा क्षति पुगेको र अरु १५ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
बाढीबाट मानवीय क्षति भने भएको छैन । बिच्छ्या खोला र कुवाडी खोला आसपास बसोबास गर्ने बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।