
धनकुटा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले पार्टीमा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसकेको दावी गर्नुभएको छ ।
नेकपा एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई आज धनकुटाको हिलेमा सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले ७० वर्षको उमेर हद र दुई कार्यकालको विषयमा मतभेदजस्तो देखिए पनि त्यो अन्त्य भइसकेको बताउनु भएको हो । पार्टी सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा सो विषयलाई टुङ्ग्याइसकेको उहाँले बताउनुभयो । ‘यसमा एकजनाको मात्र असहमति छ, कर्ण थापाको मात्रै असहमति छ’ उहाँले भन्नुभयो ।
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने कुरा एमालेले लोकतन्त्र, पार्टी र स्वयम् पूर्वराष्ट्रपतिको हितका लागि सोच विचार गरेरै निर्णय गरेको उहाँले बताउनुभयो । बाँकी विषयमा महाधिवेशनमा आधारसहित छलफल गर्न सकिने उहाँको भनाइ छ ।
पार्टी भित्र विभिन्न खालका अन्तर्घात अहिले पनि कायम रहेको भन्दै उहाँले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन यसलाई त्यागेर एक ढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । ‘पार्टीको आन्तरिक जीवनमा देखिएको आन्तरिक विवादले पार्टी संकटमा परेको छ, पार्टीलाई बालियो बनाउने सिङ्गो पार्टी एकजुट हुनुपर्दछ’, उहाँले भन्नुभयो ।
कोही आयो भने म असुरक्षित हुन्छु भन्ने कुराबाट मुक्त हुनुपर्नेमा उहाँले जोड दिनुभयो । यो सोच र प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने उहाँको धारणा छ । ‘भविष्यको योजना अन्तर्गत पार्टी निर्माण गर्ने योजनामा जानु पर्दछ, लक्ष समाज बदल्ने हो, माध्यममात्र चुनाव हो’, उहाँले भन्नुभयो ।
यत्रो समय मैले गरेँ अब पार्टीले गर्नुपर्छ भन्ने सोच गलत भएको भन्दै उहाँले त्यसलाई त्याग्नु पर्नेमा जोड दिनुभयो । पार्टीको समृद्ध नेपाल निर्माण गर्ने योजना भएको बताउँदै उहाँले एमालेका सबै ५ लाख सदस्यलाई पार्टीले पद दिन नसकिने स्पष्ट पार्नुभयो । त्यसैले समृद्ध नेपाल निर्माणको लक्ष बोकेर पार्टीका नेता कार्यकर्ता अघि बढ्नु पर्ने उहाँको धारणा छ ।