
काठमाडौं । पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचारका क्रममा एक जना कैदीको ज्यान गएको छ ।
वीरगञ्ज महानगरपालिका खल्वाटोलका २८ वर्षीय कैदी राहुल साहको उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान वीरगञ्ज कारागारमा व्यायाम गरिरहेका बेला साहको स्वास्थ्यमा समस्या आएको थियो । उनलाई तत्कालै अस्पतालमा लगिएकोमा उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।
मृतक साह ३ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा सजाय काट्दै आएका थिए । उपचारका क्रममा साहको ज्यान गएपछि आफन्तले अस्पताल प्रशासन, जेल प्रशासन र डाक्टरको लापर्बाही भन्दै नारायणी अस्पतालबाहिर प्रदर्शन गरेका छन् ।
अस्पतालले थप उपचारका लागि अन्त लैजान सिफारिश गरेको तर जेल प्रशासनले अनुमति नदिएको मृतक साहका आफन्तको आरोप छ ।
यसअघि गएको शुक्रवार कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी ३६ वर्षीय भरत चौधरीको ज्यान गएको थियो ।