२०८२ साउन २७, मङ्गलवार , ०३:२७:४७ बजे

Sajhamanch
'

पारिवारिक खेतीलाई नाफामूलक बनाउन आवश्यक : कृषिमन्त्री

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक, र दिगो पेसा बनाउन पर्ने आवश्यक रहेको बताउनु भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि तथा खाद्य सङ्गठन एफएओ नेपाल लगायतले संयुक्त आयोजनामा गरेको पारिवारिक खेती सम्बन्धी क्षेत्रीय कार्यशालामा मन्त्री अधिकारीले यस्तो बताउनु भएको हो ।

करिब ६०% जनसङ्ख्या प्रत्यक्ष कृषि व्यवसायमा संलग्न रहेको र ०.६ हेक्टर प्रति कृषक परिवार औसत जोत जमिन भएको नेपाल जस्तो देशमा पारिवारिक खेती केवल आर्थिक गतिविधि मात्र नभई हाम्रो संस्कृति, परम्परा र खाद्य सुरक्षा सुनिश्चित गर्ने प्रमुख आधार समेत रहेको बताउनु भयो ।

मन्त्री अधिकारीले साना किसानदेखि मध्यमस्तरका कृषक सम्म समावेश रहने पारिवारिक खेती विकसित र विकासोन्मुख देशमा कृषिको प्रमुख स्वरूप रहिआएको भन्दै ग्रामीण रूपान्तरणको प्रमुख घटक रहेको पारिवारिक खेती प्रणालीलाई जलवायु परिवर्तनले चुनौती थपिदिएको बताउनु भयो ।

सिँचाइको विस्तार, कोल्ड स्टोरेज पूर्वाधारको निर्माण, र मूल्य श्रृखंला विकासमा लक्षित लगानीलाई प्राथमिकतामा राखी सरकारले काम गरिरहेको दाबी गर्नु भएको छ।

कार्यशालामा कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापा , राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डन, मन्त्रालयका सचिव डा।गोविन्द प्रसाद शर्मा, एफएओका प्रतिनिधि केन सिमिजु,नेपाल कृषि सहकारी सङ्घका अध्यक्ष खेम पाठक लगायतले सम्बोधन गर्नु भएको छ।

३ दिन सम्म चल्ने कार्यशालामा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय स्तरका कृषि क्षेत्रका नेतृत्व, नीति निर्माता, विज्ञ तथा विकास साझेदार संस्थाहरूको उपस्थिति रहेको छ ।

सम्बन्धित खबर