
बिर्तामोड । सानो उमेरबाट नै बालबालिकालाई आफ्नो संस्कार, धर्म र संस्कृतिबारे ज्ञान दिलाउन तथा संस्कृतिको हस्तान्तरण गर्ने उद्देश्यले यहाँको इन्भेन्चर एजुकेशन एकाडेमीले विभिन्न चाडपर्व तथा मेला उत्सवमा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ।
सम्भव भएसम्म विद्यालय हातामा यस्ता कार्यक्रम गर्ने र धार्मिक आस्था अनुसार स्थानीय मठमन्दिर, देवालय, चर्च, मस्जिदमा लगेर ज्ञान पनि प्रदान गर्दै आएको छ।
सोही सिलसिलामा साउनको महिना हिन्दू धर्मावलम्वीहरुको लागि विशेष महत्वको भएकाले शिवको उपासना गर्ने र भक्ति गर्ने गरिन्छ । साउनको सोमबारको महत्व उजागर गर्न साउन २६ गते विद्यालयले साना नानीहरूलाई स्थानीय शिवालयको दर्शन गराएर, पूजापाठ गरी यो दिनको विशेष महत्व बुझाउने प्रयास गरेको छ ।
सोही क्रममा पूर्व प्राथमिक तहका विद्यार्थीहरुलाई स्थानीय शिवालय मन्दिर अवलोकन भ्रमण गराइएको प्रधानाध्यापक अमृत बस्नेतले जानकारी दिनुभयो ।