
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग मङ्गलबार छलफल गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा डाक्नुभएको छ ।
किसानलाई आवश्यक पर्ने मलको मौज्दात हुँदा र थप मल आउने क्रम जारी रहँदा पनि किसानले समयमा मल नपाएको गुनासो आएपछि प्रधानमन्त्री ओलीले समस्या समाधानमा उच्च प्राथमिकता दिँदै आउनुभएको छ ।
प्रधानमन्त्री ओलीले खेतीपातीको समय हुनु अगावै कृषिमन्त्रीसहित सम्बन्ध अधिकारीसँगको छलफलमा मलको अभाव नहुने गरी काम गर्न र नेपालमै रासायनिक मलको उत्पादन कारखाना खोल्न तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना ल्याउन निर्देशन दिनुभएको थियो ।