
म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ ।
जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङले आजदेखि रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।
अर्को सूचना नआएसम्म सडकमा बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म गाडी आवतजावत बन्द गर्ने निर्णय गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
यस्तै म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले वर्षातको समयमा पहिरोको जोखिम भएकाले रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको र स्थानीय प्रहरी चौकीमार्फत दुई जिल्लाले समन्वय गरेर निर्णय कार्यान्वयन गरिने बताउनुभयो ।
रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–२ भुरुङभीर, ३ गुइठेभीर, सुकेबगर र काभ्रेभीरमा पहिरो खस्ने समस्या छ ।
बेनी–जोमसोम सडक स्तरोन्नति अन्तिम चरणमा छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले पहिरो पन्छाउने र गाडी सञ्चालन गर्दै आएको छ ।