
युएई । ‘सांविधान प्रदत्त अधिकार आदिवासीहरुको विषेश क्षेत्राधिकार, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहलाई सरकारी कामकाजमा आदिवासी जनजातिको मातृ भाषा लागू गर’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ३१औं अन्तरास्ट्रिय विश्व आदिवासी दिवस २०२५ दुबईमा पनि विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ युएईमा आवद्ध जातीय समाजहरुले आफ्नो मौलिक पहिचान झल्कने झाँकी प्रस्तुत गरेका थिए भने आआफ्नो परम्परागत मौलिक संस्कृति झल्किने विभिन्न परिकारसहित विभिन्न सामाग्रीसहितको स्टल राखेर प्रदर्शनी गरिएको थियो ।
नेपाली दूतावास यूएईका उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईंको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले विदेशमा रहेर नेपाली संस्कृतिको जगेर्ना गर्न आदिवासी जनजातिहरूले गरेको प्रयासलाई प्रशंसनीय रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा आआफ्नो समाजलाई विषेश योगदान पुर्याएकोमा हरेक मातृ संस्थाबाट सिफारिस गरिएका एक महिला र एक पुरुषलाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममाझ नेफिन युएईको १०औं महाधिवेशनबाट चयन भएको सन् २०२५–२७ कार्यकालको थारु कल्याणकारी सभा युएईका लागि भागरथीकुमार भगतको अध्यक्षतामा नयाँ कार्यसमितिको घोषणा गरिएको थियो ।
यसैगरी नेफिन युएईले विगतदेखि आयोजना गर्दै आएको मिस्टर एण्ड मिस इण्डिजिनियस प्रतियोगितालाई निरन्तरता दिँदै मिस्टर इन्डिजिनियस २०२५ को उपधी थारु कल्याणकारी सभा युएईका किसनलाल चौधरी, मिस इन्डिजिनियस २०२५ को उपाधी सुनुवार सेवा समाज यूएईकी देवीमाया सुनुवारले हात पार्न सफल हुनु भएको छ ।
नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष विक्रम लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
सन १९९४ डिसेम्बर २३ का दिन संयुक्त राष्ट्रसंघको साधारण सभाले ९ अगष्टका दिन अन्तर्रास्ट्रिय आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडि बढाए अनुसार हरेक ९ अगष्टका दिन विश्वभर यो दिवस मनाइँदै आएको छ ।
तर वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने सार्वजनिक विदाको दिनलाई अनुकुल पारेर हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्दै आएका छन । सोही अनुसार यो वर्ष युएईमा १० अगस्ट आइतवारका दिन कार्यक्रम आयोजना गरिएको हो ।