
झापा । झापाको हल्दिबारी गाउँपालिकामा जंगली हात्तीको प्रवेशले चार घरमा क्षति पुगेको छ भने एक जना महिला सामान्य घाइते भएकी छन् ।
साउन २६ गते राति १२ः३० बजे हल्दिबारी–३ बाघडाँडामा तीन वटा जंगली हात्ती प्रवेश गरी निमाई बाँनिया र हिरालाल मिश्रीको घर तथा भान्साघर भत्काएका हुन्।
निमाई बाँनियाको टिनको छाना र घेराबेरा भएको घर तथा खरको छाना भएको भान्साघरमा रु. १५,००० बराबरको क्षति पुगेको छ। त्यस्तै, हिरालाल मिश्रीको भान्साघरमा रु. ३०,००० बराबरको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ।
राति ३ बजे तिर हल्दिबारी–२ भेलागुडी सिमसार क्षेत्रमा पनि हात्तीको समूह प्रवेश गरी खेम गौतमको घरमा रु. १०,००० बराबरको क्षति पुर्याएको छ।
सोही स्थानमा नरेश खड्काको एकतले पक्की घरको पूर्वपट्टिको पर्खाल भत्किँदा उनकी श्रीमती अम्विका खड्का सामान्य घाइते भएकी छन्। उक्त घरमा थप रु। १५,००० बराबरको क्षति भएको छ।
जम्मा रु. ७०,००० बराबरको भौतिक क्षति भएको र हात्तीहरूलाई नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा जंगलतर्फ फर्काइएको जनाइएको छ।