
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले दूधकुण्ड मेला भर्न गएका ७०० जनाभन्दा धेरै दर्शनार्थीको स्वास्थ्य परीक्षण गरेको छ ।
जनैपूर्णिमाको अवसरमा दूधकुण्ड पोखरीमा लागेको मेलाको अवसरमा रेडक्रसले ७०० जनाभन्दा धेरै दर्शनार्थीको स्वास्थ्य परीक्षण र ५ जनाको उपचारसमेत गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुका कोषाध्यक्ष सुरेश खड्काले जानकारी दिनुभयो ।
साउन २२, २३ र २४ गते भएको मेलामा दर्शनार्थीहरूको स्वास्थ्य जाँच तथा उपचारका लागि २ डाक्टरसहित १२ जनाको टोली खटिएको थियो ।
समुद्री सतहदेखि ४ हजार ६०० मिटरको उचाइमा रहेको दूधकुण्ड पोखरीमा हरेक वर्ष जनैपूर्णिमाका अवसरमा मेला लाग्ने गर्दछ । मेलामा जानेहरूमा लेक लाग्नेलगायतका समस्या आउने भएकोले रेडक्रसले हरेक वर्ष शिविर सञ्चालन गर्दै आएको छ ।
दर्शनार्थीहरूलाई विशेषगरी उचाइका कारण रिँगटा लाग्ने, वान्ता हुने, श्वासप्रश्वासमा समस्या आउनेजस्ता शारीरिक समस्याहरू देखिने गर्दछन् । यस वर्ष रेडक्रससहित नेपाल लाइफ इन्स्योरेन्स र नेपाली सेनाको समन्वयमा शिविर आयोजना गरेको खड्काले बताउनुभयो ।