
धनुषा । खडेरीको प्रभावमा परेका मधेश प्रदेशका आठ जिल्लामा अहिलेसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ ।
मधेश प्रदेशको बारामा सबैभन्दा बढी ९५ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा कम महोत्तरीमा ६१ दशमलब ५ प्रतिशत रोपाइँ भएको छ ।
प्रदेशको कुल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेती योग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने गरेकामा अहिलेसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा रोपाइँ भएको हो ।
यादवका अनुसार मधेशमा पर्याप्त वर्षा नभए पनि बोरिङको माध्यमबाट रोपाइँको क्षेत्रफल बढेको छ ।
बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमतीबाट किसानले सिँचाइ गरेर धान रोप्दा केही सहज भएको छ । तर, धनुषामा कमला नदी सुक्दा समस्या भएको हो ।
यस वर्ष मधेशमा बढीमा ८० प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको छ । ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो ।
सुक्खा र खडेरी प्रभावित क्षेत्रका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रमअन्तर्गत प्रदेश सरकारले किसानलाई तत्काल राहत दिने घोषणा गरेपछि प्रदेशभरका २२ हजार ५२ किसानले आवेदन दिएका छन् ।
मधेश प्रदेश सरकारले किसानलाई सहयोगका लागि १८ करोड बजेट विनियोजन गरे पनि पर्याप्त नभएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभयो ।
सिँचाइ व्यवस्थापन सहयोगका लागि मधेश प्रदेश सरकार सङ्घीय सरकारको निर्णयको पर्खाइमा रहेको उहाँको भनाइ छ ।