
मेचीनगर । राजनीतिक खबरदारीका रुपमा ‘८४ मा महिला सबै ठाउँमा पहिला’ भन्ने नारा दिएर अन्तरपुस्ता महिलावादी मञ्चले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको छ । अभियान अन्तरगत महिला जनचेतना केन्द्रले मेचीनगरमा हस्ताक्षर सुरु गरेको हो ।
राजनीतिक दलहरुलाई लक्षित गरेर अनुपम अभियानको रूपमा हस्ताक्षर अभियान सफल पार्न अन्तरपुस्ता महिलावादी मञ्चले देशभर नै हस्ताक्षर अभियान चलाइरहेको जनाइएको छ । महिला जनचेतना केन्द्रका संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले यो अभियान अन्तरगत आइतबार मेचीनगर नगरपालिका कार्यालयको गेटमा हस्ताक्षर अभियान सुरु गरिएको जानकारी दिनुभयो ।
मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, कर्मचारी, स्थानीय र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले हस्ताक्षर गरी अभियानलाई साथ र सहयोग गर्नुभएको छ । नगरको सबै वडा, संघ–संस्था लगायतमा हस्ताक्षर अभियान गरिने जनाइएको छ ।
महिला जनचेतना केन्द्रका अध्यक्ष सीता गुरुङका अनुसार अभियानको मुख्य उद्देश्य न्यायिक र समतामूलक समाज निर्माणमा टेवा पुर्याउने, पछाडि पारिएका समुदाय र महिलाहरुको आवाज बुलन्द गर्ने, राष्ट्रको हरेक तहमा निर्णायक भूमिकामा पुर्याउने, परमुखी विकासको कूलो फर्काउँदै आत्मसम्मान र आत्मनिर्भरता बढाउने रहेको छ ।
‘घर चलाउन सक्नेले देश हाक्न सक्छ’ अध्यक्ष प्रधानले भन्नुभयो ‘आगामी २०८४ मा पचास प्रतिशत महिलाहरुलाई जनप्रतिनिधि बनाउनु पर्छ भन्ने राजनीतिक दलहरुलाई दवाव हो । अब महिलालाई मेयर, अध्यक्ष, वडाध्यक्ष लगायतका पदमा उम्मेदवार बनाउनु पर्छ, टिकट दिनैपर्छ भन्ने अभियान हो । महिलाहरुलाई सशक्त बनाएर लाने अभियान हो ।’