२०८२ साउन २५, आइतवार , ०६:०३:३६ बजे

Sajhamanch
'

अरुलाई गाईजात्राको विदा, भौतिक पूर्वाधार मन्त्री दाहाल र कर्मचारीहरु मन्त्रालयमा नै ब्यस्त

आइतवार, साउन २५, २०८२

काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार आज चकमन्न रहयो । मर्मतका कारण मुख्य आवत जावतको द्वार दक्षिण ढोका पनि बन्द थियो । सिंहदरबार मात्रै होईन, काठमाडौ उपत्यकाका सबैजसो सरकारी कार्यालयहरु सुनसान रहे ।

गाईजात्राको सार्वजनिक विदाका कारण कर्मचारीहरु शुक्रबारै देखि ‘होलिडे’ मुडमा थिए । शनिबार र आइतबार लगातार दुई दिनको विदाका कारण घुमघाममा रुची राख्नेहरुले शुक्रबारको आधा दिन कामदेखिनै गन्तव्य तय गरेका थिए ।

सिंहदरबार भित्रका अरु कार्यालयहरु बन्द रहँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने रुग्ण ठेक्का व्यवस्थापनको सघन छलफल चलिरहेको थियो ।

बिहीबार र शुक्रबार देशभरिका कार्यालय प्रमुखहरु सहित सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादन समीक्षा पछि रुग्ण ठेक्का व्यवस्थापन बारे निरन्तर छलफल भएको हो ।

समीक्षा गोष्ठीमा समग्रतामा छलफल भए पनि आयोजना, क्षेत्रीय कार्यालय तथा डिभिजन कार्यालयगत रुपमा नै अलग अलग समूह बनाई विदाको दिनमा पनि छलफल भएको हो । विदाका दिन भए पनि मन्त्री देवेन्द्र दाहाल सवा १० बजे मन्त्रालय पुगिसक्नु भएको थियो ।

‘मन्त्रालयले रुग्ण ठेक्का व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएकाले विभिन्न जिल्लाबाट कार्यालय प्रमुखहरु आएको समय भएकाले विदाको दिन पनि काम गरिएको’ उहाँले जनाउनु भएको छ ।

‘देशभरिका कार्यालय प्रमुखहरु काठमाडौ आएको समय पारेर मसिनो गरी रुग्ण ठेक्का व्यवस्थापनका बारेमा छलफल गरिएको हो’ मन्त्री दाहालले भन्नुभयो, ‘देशभरिका साथीहरु कार्यक्षेत्रमा पनि पुग्नु छ, बजेट कार्यान्वयनका लागि पनि उहाँहरुलाई धेरै दिन काठमाडौमा राख्न उपयुक्त हुँदैन, त्यसैले विदाको दिन पनि हाम्रो प्राथमिकताको विषयमा छलफल गरेका हौं ।’

वार्षिक समीक्षा गोष्ठीमा मन्त्री दाहालले रुग्ण ठेक्का व्यवस्थापन र बेरुजू फर्च्छ्र्यौटलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनु भएको थियो । आयोजनाहरु शुरु हुने तर निर्धारित समयमा पूरा नभई वर्षौ अलपत्र हुने अवस्थाको अन्त्यका लागि मन्त्री दाहालले कार्यभार सम्हालेदेखि नै विशेष चासो राख्दै आउनु भएको छ ।

अन्य मन्त्रालय तथा कार्यालयहरु भन्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यक्षेत्रसमेत फरक रहेका कारण विदाका दिन अनिवार्य छुट्टी बस्ने सुविधा नहुने मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउनुहुन्छ ।

‘सडकका कर्मचारीले १०–५ काम गरेर पुग्दैन, जुनसुकै बेला पनि फिल्डमा खटिन तयार हुनुपर्छ’ सचिव शर्माले भन्नुभयो, ‘त्यसै गरी चालु आर्थिक वर्षका लागि कर्मचारीहरु कार्यालयमा जानु अघि रुग्ण ठेक्का व्यवस्थापनमा विशेष ध्यान दिँदै निकाशका लागि सहजीकरण गर्न विदाका दिन पनि काम गरिएको हो ।’

आजको बैठकमा चारवटा संघीय सुपरीवेक्षण तथा अनुगमन कार्यालय तथा विभिन्न आयोजनामा रहेका रुग्ण ठेक्का व्यवस्थापनका लागि छलफल गरिएको सचिव शर्माले जानकारी दिनुभयो । छलफलमा सडक विभागका महानिर्देशक डा. विजय जैसी, उप महानिर्देशकहरु, आयोजना प्रमुखहरु तथा विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।

सम्बन्धित खबर