
भद्रपुर । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक डा. महावीर पुनले आफ्नो सपना पूरा गर्न लगनशील भएर अविरल यात्रा गर्नुपर्ने बताउनु भएको छ ।
भद्रपुरस्थित एमरेल्ड एकाडेमीले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा. पुनले कुनै पनि उद्देश्य पूरा गर्ने हो भने लक्ष्यप्रति इमान राखेर अविरल यात्रा गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको हो ।
उहाँले ३२ वर्ष अगाडिदेखि नेपाललाई समृद्ध बनाउन प्रविधिको माध्यमबाट आविष्कारका श्रृखंला निर्माण गर्दै हिँडेको स्मरण गर्दै कतिले बौलाहा उपनाम दिए पनि बिकट पहाडी जिल्लामा बिजुली र ताररहित इन्टरनेटको आविष्कार गरेर नेपाललाई संसारसित प्रविधिमा गाँसेको सुनाउनु भयो ।
डा. पुनले ज्ञान र सीप जहाँ गएर सिके पनि प्रयोग र उन्नति आफ्नै माटोमा गर्नुपर्ने धारणा राख्दै ३५ वर्ष अगाडि शिक्षण पेशा छोडेर प्रविधि सिक्न अमेरिका पुगेको सम्झँदै ज्ञान प्राप्त गरेपछि लाखौं रूपैयाँ कमाउने विदेशी जागिर त्यागेर नेपालकै उन्नतिका लागि राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेको जानकारी दिनुभयो ।
डा. पुनले सुन्दर नेपालको परिकल्पना साकार पार्न कृषकका लागि औजार कारखना सञ्चालनमा ल्याएको बताउँदै आफूले लेखेको आफ्नो जीवनी तथा आत्मवृत्तान्त पुस्तक बेचेर सो कारखना व्यवस्थित रूपमा सञ्चालन गर्ने सपना साकार पार्न गाउँगाउँ डुल्दै हिडेको सुनाउनु भयो ।
उहाँले आफ्नो पुस्तक बेचेर वीरगञ्ज कृषि औजार कारखना सुचारू गर्छुृभन्दा आफूलाई पागल भयो भनेर आलोचना गर्ने गरेको जनाउँदै त्यस लक्ष्यप्रति निरन्तर इमान राखेर अविरल यात्रा गरिरहेको प्रष्ट पार्नुभएको छ ।
विद्यालयका संस्थापक प्रा. डा. पृथ्वीविक्रम राईको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा भद्रपुर नगरपालिकाका पूर्वप्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, एमरेल्ड एकाडेमीका संस्थापक तिलक प्याकुरेल लगायतको सहभागिता थियो । विद्यालयका प्रिन्सिपल दिगम्बरराज अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।