
जनकपुरधाम । जनकपुरधाममा रेलले कारलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन्। जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापाचोक नजिक रेलवे ट्र्याक क्रस गर्न खोज्दा रेलले कारलाई ठक्कर दिएको हो।
महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गर्दा आइतबार बिहान ८ः३० बजे नेपाल रेल्वेको रेलले बागमती प्रदेश ०१-०२५ च १२९० नम्बरको कारलाई ठक्कर दिएको हो। कार क्षतिग्रस्त भए पनि घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
चालकले रेल नजिक आइरहेको थाहा नपाएर रेलवे ट्र्याक क्रस गर्न खोज्दा कारलाई रेलले ठक्कर दिएको हो।प्रत्यक्षदर्शीका अनुसार रेल आइरहेको कुनै संकेत वा सूचना सडक प्रयोगकर्तालाई दिइएको थिएन।
दुर्घटना स्थलमा स्थानमा पनि कुनै गेट, बुम बेरियर वा आवाज दिने संयन्त्र नरहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो।