२०८२ साउन २५, आइतवार , १२:२०:४९ बजे

Sajhamanch
'

एनपीएल मिनी अक्सनबाट ३७ खेलाडी अनुबन्ध

आइतवार, साउन २५, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् ।

‘ए’ श्रेणीका चार खेलाडीलाई जनही १५ लाख रुपैयाँमा खरिद गरिएको छ । दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ ।

देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाण्डू गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने तय भएको छ । चारै खेलाडीलाई एउटाभन्दा बढी टोलीले भित्र्याउन खाजेबाट ‘लक्की ड्र’ मार्फत निर्णय गरिएको थियो ।

यसैगरी दिलीप नाथ र शेर मल्ललाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सूदुरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किङ्ग्सले, सन्तोष यादवलाई काठमाण्डू गोर्खाजले र युवराज खत्रीलाई कर्णाली याक्सले जनही १० लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

यस्तै मयन यादवलाई जनकपुर वोल्टस्ले सात लाख ७५ हजार रुपैयाँमा तथा आकाश त्रिपाठीलाई काठमाण्डू गोर्खाजले सात लाख रुपैयाँमा अनुबन्ध गरेको छ । यसैगरी शङ्कर राना, नारायण जोशी र साहिल पटेललाई विराटनगर किङ्ग्सले, अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले, विशाल पटेल र दुर्गेश गुप्तालाई लुम्बिनी लायन्सले, आदित्य महता र विकास आग्रीलाई जनकपुर बोल्टसले, विपिन रावललाई चितवन राइनोजले तथा दिपक बोहरा र मिलन बोहरालाई सुदूरपश्चिम रोयल्सले जनही ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । उत्तम थापा मगरलाई काठामण्डु गोर्खाजले ३ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

यसैगरी टेकबहादुर रावत र दीपेन्द्र थापालाई सुदूरपश्चिम रोयल्सले, सन्दीप खत्री क्षेत्री, अभिषेख तिवारी र कृष्ण पौडेललाई पोखरा एभेन्जर्सले, सचिन भट्टलाई जनकपुर बोल्टसले, तुलबहादुर थापालाई काठमाण्डू गोर्खाजले, इमरान शेख र दीपक डुम्रेलाई कर्णाली याक्सले, लुम्बिनी लायन्सले आदिल खानलाई, विराटनगर किङ्ग्सले श्रवण किश्कुलाई तथा चितवन राइनोजले विपिन आचार्य र रञ्जित कुमारलाई जनही दुई लाखमा अनुबन्ध गरेको छ ।

एनपीएलको हिजोको मिनी अक्सनमा एक सय ५० खेलाडीले भाग लिएका थिए । दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई मिनी अक्सनका लागि छनोट गरिएको थियो । अक्सनमा ‘ए’ श्रेणीको न्यूनतम १० लाख र अधिकतम १५ लाख, ‘बी’ श्रेणीको न्यूनतम पाँच लाख र अधिकतम १० लाख तथा ‘सी’ श्रेणीको न्यूनतम दुई लाख र अधिकतम पाँच लाख रुपैयाँ मूल्य राखिएको थियो । योसँगै आठ टोलीमा ८८ जना खेलाडी आबद्ध भएका छन् । हरेक टोलीमा ११–११ नेपाली खेलाडी छनोट भएसँगै अब आठवटै टोलीले कम्तिमा चार विदेशी खेलाडी अनुबन्ध गर्नेछन् ।

आठवटै टोलीको खेलाडी सूची :

जनकपुर बोल्ट्स : आसिफ शेख (मार्की खेलाडी), अनिलकुमार साह, शुभ कङ्साकार, किशोर महतो, ललितनारायण राजवंशी, तुलबहादुर थापामगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकाश आग्री ।

सुदूरपश्चिम रोयल्स : दिपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दिपक बोहरा र मिलन बोहरा ।

कर्णाली याक्स : मपाल कामी (मार्की खेलाडी), गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री ।

चितवन राइनोज : कुशल मल्ल (मार्की खेलाडी), रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमार ।

काठमाण्डु गोर्खाज : करण केसी (मार्की खेलाडी), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम ।

विराटनगर किङ्स : सन्दीप लामिछाने (मार्की खेलाडी), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शङ्कर राना ।

पोखरा एभेन्जर्स : कुशल भुर्तेल (मार्की खेलाडी), दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री ।

लुम्बिनी लायन्स : रोहित पौडेल (मार्की खेलाडी), सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता र आदिल खान ।

हिजो सम्पन्न अक्सनमा खेलाडीमाथि सबैभन्दा धेरै खर्च चितवन राइनोजले तथा कम पोखरा एभेन्जर्सले गरेको छ । चितवनले ३९ लाख, काठमाण्डूले ३७ लाख, लुम्बिनीले ३२ लाख, कर्णालीले २९ लाख, विराटनगरले २७ लाख, सुदूरपश्चिमले २४ लाख, जनकपुरले १९ लाख ७५ हजार तथा पोखराले ११ लाख रुपैयाँ खर्च गरेको छ ।

सम्बन्धित खबर