२०८२ साउन २५, आइतवार , ०७:५४:५९ बजे

Sajhamanch
'

‘आफ्ना सन्ततिलाई विश्वमा चर्चामा रहेका विषयको अध्ययन अनुसन्धानमा लगाउनुहोस्’ : मन्त्री गुरुङ

आइतवार, साउन २५, २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोग कसरी गर्ने भन्ने कुराले आदिवासीको भविष्य निर्धारण गर्ने बताउनु भएको छ । विश्व सूचना प्रविधिको तीव्र विकासले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र चर्चा भएको सन्दर्भमा मन्त्री गुरुङले त्यस्तो बताउनु भएको हो ।

३१औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले शनिबार काठमाडौँमा आयोजना गरेको विशेष मूल समारोहलाई सम्बोधन गर्दै समयअनुसार आदिवासीले आफ्ना सन्ततिलाई विश्वमा चर्चामा रहेका विषयको अध्ययन अनुसन्धानमा लगाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बदलिँदो प्रविधिको विकासमा हामीले हाम्रा सन्ततिलाई लगाउनुपर्‍यो । विश्वका अन्य मुलुकको तुलनामा नेपालका आदिवासी जनजातिले धेरै अधिकार प्राप्त गरेपनि अझै थुप्रै अधिकार प्राप्त गर्न बाँकी रहेको छ ।’

मन्त्री गुरुङले ‘२०७२ साल असोज ३ गते संघीय नेपालको संविधान जारी भएपछि नेपालका आदिवासीको मातृभाषाले पनि राष्ट्रिय भाषाको मान्यता प्राप्त गरेको’ बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो हामी आदिवासीको ठूलो उपलब्धि हो । जसका कारण आज थुप्रै मातृभाषा स्थानीय तहमा सरकारी कामकाजको भाषाको रूपमा लागू भएका छन् ।’

अहिले राज्यले आदिवासी जनजातिको चाडपर्वमा बिदा दिने गरेको भन्दै त्यो अझै पर्याप्त नभएको उहाँले बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले स्वायत्तताको, स्वशासनको अधिकार हामीले खोजेको भन्दै स्थानीय तह प्रदेशलाई आफैँले नीति तथा कार्यक्रम, बजेट, ऐन कानुन बनाउने, स्वशासनको अधिकार दिइएको बताउनुभयो । हामी आदिवासीले धेरै उपलब्धि हासिल गरेका छौँ । तर, त्यसको संरक्षण कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

आदिवासीको पहिचान भनेको भाषा, संस्कार, संस्कृति, भेसभुषा, प्रथा जनित नियम कानुन भएको भन्दै उहाँले त्यसको संरक्षण नभएमा आदिवासीको पहिचान मेटिने बताउनुभयो । आफ्नो पहिचानमा गर्व गर्नुस् । आफ्नो घरमा छोराछोरीलाई भाषा सिकाउनुस् । कतिपय कानुन अझै पनि बनेका छैनन्’ मन्त्री गुरुङले सुझाव दिँदै भन्नुभयो, ‘हामीले आदिवासीको अधिकारका लागि छुट्टै मन्त्रालय, छुट्टै विश्वविद्यालयको माग गर्‍यौँ । तर केही मात्रै प्राप्त भएको छ। आदिवासी आयोग, जातीय जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, धर्मनिरपेक्ष मुलुक हुनुपर्छ भनेर राखेको माग पूरा भएपनि अझैपनि थुप्रै अधिकार प्राप्त हुन बाँकी रहेको छ ।’

कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले ठूला आयोजना आउन थालेपछि नेपालमा आदिवासीहरू विस्थापित हुने अवस्था आएको बताउनुभयो ।

‘हाम्रा चौरी खर्च, भेँडी खर्कहरूबाट आदिवासी विस्थापित हुनुपर्‍यो’ अध्यक्ष शेर्पाले भन्नुभयो ‘संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्जका नाममा राज्यले आदिवासीको भूमि खोस्यो । आदिवासी आफ्नो थातथलो छाडेर विस्थापित हुन बाध्य भए ।’

हरेक वर्ष अगस्ट ८ का दिन विश्वका आदिवासी समुदायले विश्व आदिवासी दिवस मनाउँदै आएका छन् । यसवर्ष ूप्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, युएनड्रिप र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गरू भन्ने मूल नारासहित नेपालमा विश्व आदिवासी दिवस मनाइएको हो ।

सम्बन्धित खबर