
हेटौंडा । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिनु हुने भएको छ।
२० साउनमा बगमती प्रदेशको छेठौं मुख्यमन्त्रीको रूपमा नियुक्त बानियाँले २७ साउनमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनु हुने भएको हो ।
बानियाँले बागमती प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्ने भएकाले सभामुख भुवनकुमार पाठकले २७ गते दिउँसो ४ बजे प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयका सभा सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
बानियाँ नेपाली कांग्रेसको ३७ र नेकपा (एमाले)को २७ गरी ६४ सांसदको समर्थनमा १९ साउनमा दाबी पेश गरेसँगै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले २० साउनमा मुख्यमन्त्री नियुक्त गरेका थिए । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ ।
बानियाँलाई मुख्यमन्त्रीमा कायम रहन विश्वासको मतमा ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ । बानियाँले विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने उनी निकट सांसदले जानकारी दिनुभयो ।
बानियाँले आफूसँगै एमालेका ६ जना र कांग्रेसका २ जनालाई २० साउनमा मन्त्री नियुक्त गर्नु भएको थियो । बानियाँले आफ्नै दल कांग्रेसबाट थप ६ सांसदलाई मन्त्री नियुक्त गर्नुपर्नेछ । मन्त्री बन्न इच्छुक अधिक भएपछि बानियाँलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस परिरहेको छ ।
२० साउनमा बहादुर पक्षका सांसदलाई मन्त्री नियुक्त नगरेको भन्दै कांग्रेसभित्र बहादुर पक्ष असन्तुष्ट छ ।
बहादुरले १४ साउनमा मन्त्री नियुक्त गरेर पनि सपथ लिन नपाएका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई बानियाँले पहिलो चरणमै मन्त्री बनाउनुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको सहमति पालना नगरेको भन्दै लामाले असन्तुष्टि पोखेका थिए ।