२०८२ साउन २३, शुक्रवार , ०७:०१:१८ बजे

Sajhamanch
'

कांग्रेस सभापति देउवा र उपसभापति खड्का, दुई महामन्त्रीबीच छलफल

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग छलफल गर्नु भएको छ।

शुक्रबार सभापति देउवाले निवास बूढानीलकण्ठमा उपसभापति र दुवै महामन्त्रीलाई बोलाएर कुराकानी गरेका हुन्। उक्त छलफलमा मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि सहभागी हुनुहुनथ्यो।

सभापति देउवाले क्रियाशील सदस्यता नवीकरण, भ्रातृ संस्थाका अधिवेशन तयारी, रुपन्देही ३ उपनिर्वाचन तयारीलगायत विषयमा उपसभापति र महामन्त्रीद्वयसँग कुराकानी गर्नु भएको हो।

उपसभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यतालगायत पार्टीका आन्तरिक विषयहरूमा कुराकानी भएको सञ्चारकर्मीलाई बताउनु भयो।

‘क्रियाशील सदस्यता र भ्रातृ संस्थाका अधिवेशनलगायत आन्तरिक विषयमा मात्रै कुराकानी भयो,’ उहाँले भन्नुभयो।

कांग्रेसले असोजभित्र क्रियाशील सदस्यता नवीकरणका लागि समय दिएको छ। तर कतिपय जिल्लामा क्रियाशील सदस्यता नवीकरणमा विवाद देखा परेका छन्।

विवाद देखिएका जिल्लाका सम्बन्धित नेताहरूलाई काठमाडौं झिकाएर छलफल गर्ने तयारी कांग्रेसको छ।

साथै नेविसंघ, तरूण दललगायत भ्रातृ संस्थाको महाधिवेशन गर्नका लागि बनाइएको कार्यादेशबारे पनि छलफल भएको छ। उक्त कार्यादेश महामन्त्री शर्माले तयार पारेका थिए। भ्रातृ संस्थाका अधिवेशन पार्टीले तोकेको निर्देशन समितिले गराउनेछ।

कांग्रेसबाट टिकट पाएर निर्वाचित जनप्रतिनिधिहरूका कार्यसम्पादन निर्देशिकाबारे पनि सामान्य छलफल भएको छ।

साथै कात्तिक १७ गते रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचन तयारीबारे पनि कुराकानी भएको छ। रूपन्देही ३ मा कसलाई उम्मेदवार बनाउने भनेर कांग्रेसले तल्ला तहबाट आकांक्षीको नाम मागिसकेको छैन।

छलफलमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाबारे भने कुरा उठेको थिएन। कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेरमा सांसद जीवन परियार सभापतित्वको छानबिन समितिले यसमा राजनीतिक र नैतिक जिम्मेवार समिति सभापति खतिवडा रहेको निष्कर्ष निकालेको थियो।

समितिका सभापति खतिवडाले आफूले राजीनामा दिने वा नदिनेबारे सभापति देउवालगायतसँग परामर्शपछि निर्णय लिने अभिव्यक्ति दिएका थिए। सेतोपाटीसँग कुराकानी गर्दै खतिवडाले समिति सभापतिबाट राजीनामा दिन पार्टीबाट निर्देशन नआएको बताउनु भयो।

सम्बन्धित खबर