
काठमाडौं । नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धमा योगदान पुर्याउने उद्देश्यले थिङ्क ट्याङ्क स्तरमासम्झौता भएको छ ।
नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र भारतको इन्टरनेशनल काउन्सिल अफ वर्ल्ड अफियर्स (आईसीडब्लूए) बीच हिजो नयाँ दिल्लीमा कूटनीति, संस्कृति, शिक्षा, व्यापार, मिडिया र अन्य क्षेत्रमा दीर्घकालीन सहयोगलाई बढाउन समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
आईसीडब्लूएद्वारा आयोजित कार्यक्रममा आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल र आईसीडब्लूएकी कार्यवाहक महानिर्देशक तथा अतिरिक्त सचिव राजदूत नूतन कपूर महावारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको आईआरजीडीडीले जनाएको छ ।
सम्झौताअनुसार दुई संस्थाबीच पारस्परिक समझदारीलाई गहिरो बनाउन र सहयोगी संस्थागत सम्बन्धलाई प्रवर्द्धन गर्न साझा दृष्टिकोणको अवधारणा प्रस्तुत गरिने बताइएको छ ।
यसले अर्थपूर्ण संवाद र साझेदारीलाई सहज बनाउन कूटनीति, सामाजिक विज्ञान, सञ्चार र अन्तर्राष्ट्रिय सम्बन्धलगायतका विभिन्न क्षेत्रमा दुवै देशका महत्वपूर्ण व्यक्तित्वहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ ।