
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणसँगै बेरुजू फर्च्छ्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
बुधबार र बिहीबार चलेको सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादनको समीक्षा कार्यक्रमको समापन सत्रमा मन्त्री दाहालले कार्यसम्पादनका हरेक चरणमा आर्थिक सुशासन कायम गर्न निर्देशन दिनु भएको हो ।
गुणस्तरीय निर्माण कार्यलाई अघि बढाउन विभाग अन्तर्गत रहेका प्रयोगशालाहरुको क्षमता विकास गरी पूर्णरुपमा सञ्चालनको वातावरण बनाउन पनि उहाँको निर्देशन छ ।
पूल निर्माणको क्षेत्रमा देखिएका समस्यालाई मन्त्रालयले गम्भिर रुपमा लिएको भन्दै मन्त्री दाहालले समस्याग्रस्त पूलको निर्माण कार्य अघि बढाउन विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
देशभरिमा निर्माण शुरु भई अलपत्र परेका, ठेक्का लागेर पनि शुरु नभएका वा पूरा नभएका, त्रुटी देखिएका पूलहरुको समस्या लामो समयसम्म रहन नदिन उहाँले निर्देशन दिनुभयो ।
राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय महत्वका योजना, रुपान्तरणकारी कार्यक्रमजस्ता विशेष महत्वका क्षेत्रमा श्रोत साधनको अभाव हुन नदिनेसमेत उहाँले प्रतिवद्धता जनाउनुभयो ।
यस्तै उत्तर दक्षिण राजमार्ग, त्रिदेशीय करिडोर, राजश्व संकलनमा सहयोग पुग्ने संरचना, कृषि उपजको बजारीकरण लगायतमा सहयोग पुग्ने आयोजना, योजनामा समेत विशेष ध्यान दिने उहाँले जनाउनुभयो ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले दशैं अघिनै देशभरिका सडक खाल्डा रहित बनाउने काम अघि बढाउन निर्देशन दिनुभयो । गत आर्थिक वर्षको पूँजीगत खर्चको नतिजाबाट उत्साही मात्र नभई थप नतिजा आउने गरी काम गर्न उहाँको विशेष निर्देशन थियो ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न कार्यालय, कार्यालय प्रमुख तथा निर्माण व्यवसायीलाई पुरस्कृत गरिएको थियो ।
दुई दिन सञ्चालन भएको कार्यक्रममा सडक विभाग अन्तर्गतका देशभरिका कार्यालय प्रमुख, दातृ निकायका प्रतिनिधि तथा सरोकार राख्ने अन्य कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको सडक विभागका महानिर्देशक डा. बिजय जैसीले जानकारी दिनुभयो ।