
ताप्लेजुङ । ताप्लेजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको दिनहुँजसो भिड लाग्न थालेको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा प्राप्त गर्नका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा सेवाग्राहीको भिड लाग्न थालेको हो ।
साउन महिनायता राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको भिड लाग्न थालेको जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र शाखाका नायब सुब्बा रमेशप्रसाद सिग्देलले बताउनु भयो ।
नासु सिग्देलका अनुसार हाल दैनिक एक सय भन्दा बढीको सङ्ख्यामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राही आउने गरेका छन् । राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीमा करिब ६५ प्रतिशत ज्येष्ठ नागरिक रहेका पनि सिग्देलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले सेवा लिन आउने ज्येष्ठ नागरिकको संख्या उल्लेख्य रहेको हो ।
राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको चापसँगै ज्येष्ठ नागरिकको अवस्थालाई दृष्टिगत गरी पछिल्लो तीन–चार दिनयता कार्यालय समयपछि पनि सेवा प्रवाह गर्दै आएको उनले जानकारी दिनुभयो। उहाँले बेलुका ७ः३० देखि ८ बजेसम्म नै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाह गरिरहेको बताउनु भयो ।
यता राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको जति नै भिड लागे पनि एक दिनमा बढीमा ७० जना सम्मको मात्र विवरण दर्ता हुने गरेको राष्ट्रिय परिचयपत्र शाखाका कम्प्युटर अप्रेटर वसन्त निरौलाले जानकारी दिनुभयो ।
निरौलाका अनुसार ज्येष्ठ नागरिकको शारीरिक अवस्थाका कारण उहाँहरुको आवश्यक सबै विवरण दर्ता गराउनमा समय लाग्ने गरेको छ । कुनैबेला राष्ट्रिय परिचयपत्रको सरोवर (प्रणाली) डाउन भई दिने हुनाले पनि विवरण दर्ता गर्न ढिलो हुने गरेको उहाँले बताउनु भयो ।