
कनकाई । कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ। चालु आर्थिक वर्षदेखि सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।
मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने संस्कार भएकाले सरहे कार्यक्रम सुरु गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।
‘नगरपालिका नगरवासीको अभिभावक संस्था हो’, नगरप्रमुख पोखरेलले भन्नुभयो, ‘परम्परादेखि चलिआएको सरहे प्रथालाई मृत्यु संस्कारमा गरिनुपर्ने कर्मका निमित्त सहज बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौँ।’
दुःख र पीडा परेका बेलामा परिवारसँग प्रत्यक्ष भेटेर समवेदना तथा सरहे उपलब्ध गराउँदा दुःखमा थोरै भए पनि सहानुभूति हुने नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमअन्तर्गत समवेदन पत्रसहित नगद पाँच हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिने उहाँले जानकारी दिनुभयो।
नगरपालिकाको यही साउन ११ गते बसेको कार्यपालिका बैठकले ‘मृत्यु संस्कार व्यवस्थापन कार्यविधि २०८२’ स्वीकृत गरेको थियो।