
काठमाडौं । हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ९४ अङ्कले घटेर २ हजार ८३२ दशमलव ०६ विन्दुमा झरेको छ ।
आज लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्यबाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ४१ प्रतिशतले बढेको छ ।
आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर ३ दशमलव ७८ प्रतिशतले ओरालो लागेको छ । बजार सामान्य घटेको दिन विन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब ३३ करोडको कारोबार भएकोमा आज ३२० वटा कम्पनीका २ करोड १६ लाख कित्ता शेयर ७ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ । अघिल्लो सोमवारयता कारोबार रकम घटिरहेको छ ।
योसँगै ५० खर्ब नाघेर कीर्तिमान बनाएको बजार पूँजीकरण अर्थात् लगानीकर्ताको सम्पत्ति ४७ खर्ब रुपैयाँमा झरेको छ ।