
काठमाडौं । राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ४० दिनका लागि निक्षेप खिच्न लागेको हो ।
अहिले कुल निक्षेप ७१ खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ । निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज आउँदो भदौ २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालू आर्थिक वर्ष २०८२/८३ शुरुआतदेखि नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।
राष्ट्र बैंकले तरलता व्यवस्थापन, मुद्रास्फीति नियन्त्रण, मौद्रिक नीति कार्यान्वयन गर्न, ब्याजदरमा सन्तुलन ल्याउन, वित्तीय प्रणालीमा स्थायित्व ल्याउन, सरकारी ऋण व्यवस्थापन गर्न निक्षेप सङ्कलन गर्ने गरेको छ ।
यस्तै बैंकहरूले अत्यधिक कर्जा प्रवाह नगरोस् भनेर नियन्त्रण गर्न लगानी बजारमा असन्तुलन आउन नदिन र आर्थिक अस्थिरता रोक्नसमेत केन्द्रीय बैंकले निक्षेप सङ्कलन गर्ने गरेको छ ।