
काठमाडौं । २० वर्षमुनिको महिला एशियन कप छनोट आजदेखि शुरू हुँदैछ । भूटानको थिम्पुमा आजदेखि शुरू हुन लागेको प्रतियोगिताको छनोटमा नेपाल समूह ‘ए’ मा छ ।
नेपाल र भूटानबीचको खेल थिम्पुको चाङलिमियाङ मैदानमा बेलुका पौने ६ बजे शरू हुनेछ । यो समूहमा उत्तर कोरिया र साउदी अरब पनि छन् ।
दोस्रो खेल नेपालले साउदी अरबसँग पर्सि शुक्रवार र उत्तर कोरियासँग आइतवार खेल्नेछ । समूह ‘ए’ को अर्को टोली मङ्गोलियाले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।
३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन् ।
नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले महिला एशियन कपमा नेपाल छनोट हुनेमा आफू ढुक्क रहेको बताएका छन् ।