२०८२ साउन २०, मङ्गलवार , ०८:५४:५४ बजे

Sajhamanch
'

बहुविवाह सम्बन्धी कानून रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

मङ्गलवार, साउन २०, २०८२

झापा । बहुविवाहलाई कानुनी मान्यता दिने प्रयासको विरोधमा अनेम संघका केन्द्रीय उपाध्यक्ष तथा कमल गाउँपालिकाका निवर्तमान अध्यक्ष मेनुका काफ्ले नेतृत्वको सर्वदलीय भेलाले खबरदारी बहस सुरु गरेको छ ।

कानून मन्त्रालयले बहुविवाहलाई प्रोत्साहित गर्नेगरी ल्याउन खोजेको भनिएको विधेयक लोकतान्त्रिक मूल्य विरोधी र महिला हिंसालाई प्रस्रय दिने एवम् समग्र महिला आन्दोलनबाट प्राप्त उपलब्धि विरुद्ध रहेको भन्दै महिला नेतृहरुले विरोध जनाएका हुन् ।

कानून मन्त्रालयले प्रस्ताव गरेको विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्दै मंगलबार कमल गाउँपालिकामार्फत सरकारलाई महिला नेतृहरुले ज्ञापन पत्रसमेत बुझाएका छन् ।

ज्ञापनपत्रमा २०७५ सालमा भदौ १ गतेदेखि पूर्णरुपमा निषेध गरिएको बहुविवाहलाई पुनःसंशोधन गरी बहुविवाह गर्न पाउने गरीको विधेयकप्रति महिलाहरुको ध्यानकर्षण भएको जनाइएको छ ।

यसैबीच, अन्तरपार्टी महिला सञ्जाल झापाले बहुविवाह सम्बन्धी ल्याउन लागेको कानून तत्काल रोक्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

सञ्जालका झापा अध्यक्ष गोमा भट्टराईको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीमार्फत कानून मन्त्रालयलाई बोधार्थ राखेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

ज्ञापनपत्रमा भनिएको छः “नेपालको वर्तमान संविधानले महिला माथि हुने सबैखाले विभेद अन्त्य गर्ने गरी बहुविवाहलाई पूर्ण बन्देज गरिसकेको अवस्थामा मुलुकी अपराध संहितालाई संशोधन गरी बहुविवाहलाई प्रवेश दिने कार्य अगाडि नबढाउन आग्रह गरिन्छ ।”

अन्तरपार्टी महिला सञ्जाल आबद्ध सकृय महिलाहरूको उपस्थिति रहेको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले यथाशिघ्र तोकिएको ठाउँमा ज्ञापनपत्र पुर्याइ दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सम्बन्धित खबर