
कञ्चनपुर । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि सम्झौता भएको तीनदशक पुगिसक्दा पनि सन्धि सम्झौताअनुसार दोधारा–चाँदनी नहर निर्माण अन्योल बनेको छ ।
नेपालतर्फ नहर निर्माणका लागि जग्गा अधिग्रहण गरे पनि भारतीय पक्षले निर्माण गर्नुपर्ने एक हजार १०० मिटर मूल नहर निर्माण नगर्दा तीन दशकसम्म पनि दोधारा–चाँदनीले पानी पाउन नसकेको हो ।
महाकाली सन्धिअनुसार भारतले नेपाललाई दोधारा–चाँदनीमा सिँचाइका लागि ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने थियो ।
वि.सं.२०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावलले महाकाली सन्धिमा हस्ताक्षर गर्नुभएको थियो ।
सन्धिमा कञ्चनपुरको दोधारा–चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि पानी दिने विषय उल्लेख भए पनि कार्यान्वयन हुन नसकेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक डा।योगेन्द्र मिश्रले बताउनुभयो ।
दोधारा–चाँदनीमा नेपाली पक्षले नहर निर्माणका लागि मुआब्जा वितरण गरेर जग्गा अधिग्रहण गरिसकेको उहाँले जानकारी दिनुभयो ।